नेता धर्मेन्द्र बास्तोला ८ दिनदेखि प्रहरी हिरासतमा

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, १२ : २७
नेता धर्मेन्द्र बास्तोला ८ दिनदेखि प्रहरी हिरासतमा

काठमाडौँ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बास्तोला विगत आठ दिनदेखि प्रहरी हिरासतमा छन्। उनी अझै तीन दिनभन्दा बढी हिरासतमा बस्नुपर्ने देखिएको छ। 

दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने हुँदा नेता बास्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको दाङ प्रहरीले जनाएको छ । 

नेता बास्तोलालाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा राखिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका-५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

सुर्खेतको पञ्चपुरी नगरपालिका-९ का बास्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका-५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। 

उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक डिएसपी जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याएको भए पनि त्यसको केही बेरमै  राति १० बजेपछि चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। 

घटनालगतै प्रहरीले नेता बास्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी हिरासतमा बस्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस