काठमाडौँ । नेपाली काङ्ग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरूले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन्।
उनले चुनाव प्रचारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा सुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन्।
नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन्।
मतदाताले कानुन निर्माणमा कति प्रगति भयो तथा बाँकी के-कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानुन निर्माणमा चुनौती खडा गरेको बताइन्।
हिउँदे र बर्खे अधिवेशन सकिँदासम्म जति कानुन निर्माण गर्नुपर्ने हो त्यो नभएकामा आलोचना भइरहेको बताउँदै उनले जनताका आवाज र कानुन निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउनपर्ने विचार प्रकट गरिन्।
‘स्वार्थको राजनीतिक कारण एकअर्काको अस्तित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ,’ उनले भनिन्।
सांसद खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ति गर्ने, आरोपप्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएको टिप्पणी गरिन्। जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउँदै काँग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुबान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको जानकारी दिइन्।
‘विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न पर्यो। जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकैरुपमा छ। पुल आवश्यक छ,’ उनले भनिन्।
खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पुर्याएको धारणा राखिन्।
हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पुर्याउन आवश्यक रहेको सुझाव दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ११ : ५१
लेखकबाट थप