हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, २० : ४६
हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

काठमाडौँ । हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । नेपालीहरूको महान् पर्व वडा दसैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।

आज बिहान ८ बजेको शुभ साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपराह्न साढे ४ बजे बाजागाजासहित दसैँ घरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रूपमा दसैँ घरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएपछि काठमाडौँलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौँको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हनुमानढोका हेरचाह अड्डाले जनाएको छ ।

गोरखाबाट पठाइएको फूलपाती ३स् ३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुगेको थियो । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीय वासीसहितको टोली जमल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस