भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १९ : १४
भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या

भोजपुर । भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार पछि हत्या भएको छ। शनिबार बिहान आमचोक गाउँपालिका-६ टेङलुङछुक स्थित जंगलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज पाठकले जानकारी दिए।

ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ।डिएसपी पाठकका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन्। परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेका थिए।

खबर पाएपछि प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो।शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थालेको थियो।

प्रहरीले अनुसन्धान गर्नेक्रममा अन्तिमपटक दिपचन्द्रसँग नाबालिकाको भेट भएको खुलेको थियो।‘नाबालिका हराएको भनेपछि दिपचन्द्र आफैं पनि प्रहरीसँग खोजी गर्न भनेर हिँडेका थिए,’ डिएसपी पाठकले भने, ‘तर उनीसँग नाबालिकाको अन्तिम पटक भेट भएको भनेपछि हामीले नियन्त्रणमा लियौं।’

दिपचन्द्र नाबालिकाका छिमेकी समेत हुन्। जसकारण मृतक परिवारले पनि उनीमाथि शंका गरेको थिएन।सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए।

तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो।‘शरीरमा घाउहरू देख्यौं। त्यसपछि कसरी भयो भनेर सोध्यौं पनि तर घाँस काट्न जाँदा भयो भनेका थिए,’ डिएसपी पाठकले भने, ‘तरपछि उनले घटना घटाएको स्वीकारे।’

घटनाबारे स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो। त्यसक्रममा शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो।जहाँ नाबालिकाको शव फेला परेको थियो। नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ।

घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित घोपा अस्पतालमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस