ऋण काढेर दसैं मनाउँदै चेपाङ समुदाय

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, ०९ : २२
ऋण काढेर दसैं मनाउँदै चेपाङ समुदाय

चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए। 

‘चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ। चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ,’ उनले भने।

दसैंमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए। यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिँदै गएको उनको भनाइ छ।

जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ।  

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजाले यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए। चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए। पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनले बताए। 

‘मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैं मनाउन बाध्य छन्। चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै  माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता छ,’ उनले भने।

चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ। विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।

 

प्रतिक्रिया दिनुहोस