प्रधानमन्त्री प्रचण्डद्वारा एनआरएनए निर्वाचनबारे चासो

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, १६ : ०२
प्रधानमन्त्री प्रचण्डद्वारा एनआरएनए निर्वाचनबारे चासो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् ।

एक पक्षले एनआरएनएको निर्वाचनमा कार्यकारी अध्यक्ष बद्री केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप लगाएर विवाद उत्पन्न भएसँगै प्रधानमन्त्रीले विश्व सम्मेलनको समापन समारोहमा सहभागी नहुने निर्णय लिएका हुन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पूर्वनिर्धारित कार्यक्रम भएपछि एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको बताए । असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो । तर, गएराति सम्पन्न निर्वाचनमा भेरो नामक अनलाइन भोटिङ सिस्टम ह्याक गरेर अध्यक्षको दोस्रो कार्यकालका उम्मेदवार बनेका बद्री केसीले आफ्नो पक्षमा नतिजा देखाएका दुई उम्मेदवारहर आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । उनीहरुले निर्वाचन खारेज गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग समेत गरेका छन् । 

गएराति सार्वजनिक नतिजाअनुसार बद्री केसी विजयी भएका थिए भने आरके दोस्रो र महेश श्रेष्ठ तेस्रो भएका थिए । नतिजालगत्तै धाँधली भएको भन्दै पराजित उम्मेदवारको पक्षमा समर्थकले निरन्तर नाराबाजी गर्दै आएका छन् । 

यसैबीच नतिजापछि एनआरएनएको एक टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । भेटका क्रममा प्रधानमन्त्रीले धाँधलीबारे चासो राख्दै सबै पक्षसँग बुझेर आवश्यक कदम चाल्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस