मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले २ वटा वडामा नगर अस्पताल सञ्चालनको तयारी गरेको छ । १३ र १६ नम्बर वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित जनशक्ति थप गरेर नगर अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी भएको हो ।
२०७९ सालमै नगरकार्यपालिकाबाट निर्णय गरेर उपमहानगरपालिकाले ती स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्ने काम थालेको हो । गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल सञ्चालनको सोच बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।
सुरुवाती चरणमा अस्पताललाई ५/५ शय्या क्षमतामा सञ्चालन गरी आवश्यकताका आधारमा शय्या थप गर्ने र स्तरोन्नतिको काम गर्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । नगर अस्पताल सञ्चालनका लागि फर्निचर, प्रयोगशालाका सामग्री लगायत व्यवस्थापनका काम गरिरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार अस्पतालका लागि हाल जनशक्ति माग गरिएको छ ।
१७ पदका लागि ७९५ को आवेदन
नगर अस्पतालका लागि उपमहानगरपालिकाले विभिन्न ७ पदमा गत असोज १० मा आवेदन खुला गरेको थियो । उपमहानगरपालिकाले १५ दिनको समय दिएर मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, कम्युटर अपरेटर, अहेव, कार्यालय सहयोगी पदमा आवेदन खुला गरेको थियो ।
ती पदका लागि ७९५ जनाको आवेदन परेको छ । उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख शान्ति विश्वकर्माका अनुसार मेडिकल अधिकृत २, स्टाफ नर्स २, प्रयोगशाला प्राविधिक १, अहेव १, कम्प्युटर अपरेटर ७ र कार्यालय सहयोगी ४ जना माग गर्दै आवेदन खुला गरिएको थियो ।
२ जना मेडिकल अधिकृत माग गरेकोमा २ जनाले मात्र आवेदन दिएका छन् भने २ जना स्टाफ नर्सका लागि २० जनाले आवेदन दिएका छन् । एक जना ल्याव टेक्निसियन पदका लागि ९ जना, एक जना अहेव माग गरिएकोमा २७ जनाले आवेदन दिएका छन् ।
यस्तै, ७ जना कम्प्युटर अपरेटर माग गरिएकोमा ३७५ जना र ४ जना कार्यालय सहयोगी माग गरिएकोमा ३६२ जनाले आवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण