वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्यामा निरन्तर गिरावट

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १५ : ४२
वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्यामा निरन्तर गिरावट

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा निरन्तर गिरावट देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म १ लाख ६२ हजार ६९४ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३९ हजार ४९० जनाले कम हो । खासगरी मलेसिया र गल्फ मुलुकमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अनुसार मलेसिया र गल्फ मुलुकबाट नयाँ डिमान्ड कम आइरहेको छ । समग्रमा विदेश जानेको संख्या कम भएको भन्न नमिले पनि गत वर्षको तुलनामा कम डिमान्ड आउँदा त्यसको प्रभाव यस वर्ष देखिएको सङ्घको भनाई छ ।

विभागको तथ्याङ्क अनुसार यस वर्ष साउनमा ५५ हजार ५७५ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष यो महिनामा ७६ हजार ४०६ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको असोजमा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस