नयाँ हुँ भन्ने दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्छ : विश्वप्रकाश शर्मा

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १९ : ४९
नयाँ हुँ भन्ने दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरे ।

दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताए । 

‘कसैले भन्दै गर्दा पुरानाका दिन गए । पुराना धर्म शाष्त्र पनि हो । पुराना चाँही यो धर्ती पनि हो । पुराना भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसदमा पहिलो पटक छ । नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नुपर्छ’ उनले भने, ‘कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँचाहीँ प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा विदाई पनि हुन्नौं । र, शक्तिमा, सरकामा छौ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं ।’

उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।

माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकतावद्ध भएर अघि बढन कांग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने बताए ।

नेता कार्कीले भने, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ । हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरु कस्सिएर आएका छन । उनीहरुको आँट बढेको छ । अव एकचोटी यो बाँकि रहेका कम्युनिष्टहरु र समाजबाद मान्ने का‌ग्रेसहरु एकचोटी जुर्मुराउने हो भने, नया तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरी पनि समाजवादनै हो । नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ ।’

कार्यक्रममा बोल्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताए । उनले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस