गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयले दिए ९ स्थानमा हत्या गरेको बयान

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १३ : १०
गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयले दिए ९ स्थानमा हत्या गरेको बयान

काठमाडौँ । गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीले आफूले तीनकुनेको गैरीगाउँ बाहेक अन्य अन्य नौ स्थानमा हत्या गरेको सनसनीपूर्ण बयान दिएका छन् । साङ्केतिक भाषाका विज्ञको सहयोगमा प्रहरीले लिएको बयानमा भण्डारीले गैरीगाउँबाहेक पनि अन्यत्र ९ स्थानमा मान्छे मारेको बयान दिएका हुन् । 

 

प्रहरीसमक्ष दिएको बयानमा भण्डारीले आफूले यसभन्दा अगाडि पनि रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी लगायतका स्थानमा मानिसहरूको हत्या गरेको बयान दिएका छन् । यद्यपि प्रहरीले त्यस सम्बन्धमा थप तथ्य फेला पार्न नसकेपछि तत्कालका लागि गैरीगाउँ हत्याकाण्डमा मात्रै भण्डारीलाई अभियुक्त बनाएको छ । 

भण्डारीले आफूमाथि सामाजिक बहिष्कार हुने गरेकाले आफू निर्दयी बनेको र कसैप्रति माया ममता नरहेको बयान दिएका छन् । आफ्नो आत्मसम्मानमा चोट पुगेपछि आफू बदला लिन लागिपर्ने र एकपटक देखेको वा चिनेको व्यक्तिलाई पछिसम्म पहिचान गर्न सक्ने क्षमता रहेको बयान दिएका छन् । 

९ जनाको हत्या गरेको बारे भण्डारीको बयानको केही अंश यस्तो छ :

‘... सामाजिक विभेदको कारण म निर्दयी छु, कसैप्रति माया, ममता जाग्दैन । विगतमा पनि यस्ता घटना धेरै घटाएको हुनाले मैले हत्यापछि घटनास्थलमा प्रवेश गर्दा प्रवेश गरेको पहिलो कोठामा गएर आराम गरे, आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस भएन । बहिराहरू प्रति गरिने सामाजिक, विभेदको कारण मैले काठमाडौँको विभिन्न स्थानहरू रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि विभिन्न मितिमा मान्छे मारेको छु, मैले मारेको मान्छेहरूलाई म चिन्दिनँ । सबैलाई धारिलो हतियार प्रहार गरी मारेको छु । मारेको मिति थाहा छैन, अनुसन्धान गर्ने काम प्रहरीको हो ।’

गैरीगाउँ हत्याका अभियुक्त सञ्जय भण्डारीले अन्य व्यक्तिको हत्या योजना बनाएको, कसैलाई मारिदिन्छु भनेको लगायतका कुराकानी मोबाइलको ल्याब परीक्षणपछि फेला परेको थियो । त्यस सम्बन्धमा प्रहरीले पछि पनि भण्डारीसँग थप बयान लिएको थियो । 

बयानमा भण्डारीले भनेका छन्,

‘रिसर्च भण्डारी मैले चिनेको साथी हो, अहिले धेरै समय भयो सम्पर्कमा छैन । त्यतिखेर मार्ने विषयमा कुरा भएको भएता पनि मारेको छैन । अलिस श्रेष्ठ म जस्तै बोल्न सुन्न नसक्ने बहिरा नागरिक हुन्, निजसँग तत्कालीन समयमा गाँजा सम्बन्धी कुराकानी भएको भएता पनि कारोबार हुन पाएन । रिसभ पौडेललाई उक्त म्यासेज तत्कालीन समयमा के कुन उद्देश्यले पठाएको हुँ, मलाई यकिन याद भएन, हाल खुलाउन सक्दिन । मेरो भन्नु पर्ने पूर्व बयान र प्रस्तुत थप बयानमा खुलाई लेखाएको छु, प्रस्तुत घटनामा मैले चार जनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बाली आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला, निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो, यदि घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेँ जस्तो लाग्छ । लाइटको उज्यालो देखि मानिसहरूको जमघट हुन लागेको भ्रममा परी निजलाई नमारी भागेकोमा मलाई पश्चात्ताप छ ।’

गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीले क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको भन्दै उनीविरुद्ध जीवित रहेसम्म कैदमा राख्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सो मुद्दामा शुक्रबार मात्रै न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

प्रतिक्रिया दिनुहोस