प्राधिकरणद्वारा मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, ११ : २४
प्राधिकरणद्वारा मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि कम्पनीको एओसी निलम्बन गरेको जानकारी दिए । उनले भने, ‘अब कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच हुन्छ । त्यसपछि प्रक्रिया पुरा नभएको वा त्रुटि भेटिएमा खारेजसम्म हुन्छ ।’

आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । हेलिकप्टरमा आगलागी भएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई  फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस