प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन् ।
राप्ती इन्जिनियरिङ कलेज, प्युठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्युठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताइन् ।
साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले यसलाई बृहत् सामाजिक अभियानकै रूपमा गाउँ गाउँमा लैजानुपर्ने बताइन् । साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोर किशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माले बताइन् ।
सूचना प्रविधि आयआर्जनको महत्त्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको औँल्याउँदै उनले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्ब वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट गरिन् ।
सूचना प्रविधिलाई समृद्धिको आधार बनाउन नेपाल सरकारले यससम्बन्धी व्यावसायिक तालिममा जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले कक्षा १२ उत्तीर्ण युवालाई लक्षित गरी अल्पकालीन तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको जानकारी दिइन् । सूचना प्रविधि सिमानाविहीन हुने भएकाले यसले भूपरिवेष्टित मान्यता पनि तोडेको र देशभित्रै बसेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने भएकाले नेपालका लागि यसको ठूलो सम्भावना रहेको बताइन् । उनले भनिन्, “सूचना प्रविधिको दक्ष जनशक्ति विकास हुँदै गयो भने नेपाललाई युवा होइन, सेवा निर्यात गर्ने देशका रूपमा स्थापित गर्न सकिने छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असोज २०८०, १८ : ४६
लेखकबाट थप