सशस्त्र प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : २९ हजार जनशक्ति परिचालन गरिने

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १६ : ३८
सशस्त्र प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : २९ हजार जनशक्ति परिचालन गरिने

काठमाडौँ । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेको छ । सशस्त्र प्रहरीका निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको प्रेस नोटअनुसार चाडपर्वमा २९ हजार १ सय ५४ जना जनशक्ति सुरक्षा योजना अन्तर्गत परिचालित गर्नेगरी योजना तयार गरिएको छ । यस्तै तत्कालै खटाउन सक्ने गरी करीव २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी हालतमापनि राखिएको छ ।

उनका अनुसार करीव ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने छन् । चाडपर्वको समयमा सीमावर्ती ईलाका तथा अन्य स्थानहरुमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना अन्तर्गत रहि चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीको भनाइ छ । यसैगरी देशभरका इकाईहरुले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्वार कार्यमा सहयोग पु¥याउने अभिप्रायले भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा १ सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) समेत स्थापना गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचाहन गर्नसक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ । दसैँ, तिहार, छठ तथा अन्य चाडपर्वमाहरुमा हुने सक्ने आपराधिक क्रियाकलापहरुको रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाईन्ट ड्यूटि खटिनुको साथै मुख्य राजमार्गमा हुनसक्ने घटना लगायत दुर्घटनाहरुलाई न्यूनिकरण तथा दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्स सहितको आई.आर.टी. टोली परिचालिन गरिने सशस्त्र प्रहरीको भनाइ छ ।

यसैगरी प्राकृतिक तथा मानवसृजित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरी बल नेपालले धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङ्गको भालुवाङ्ग, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी ८ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको छ । यस्तै स्वास्थ्यकर्मी सहित सुविधा सम्पन्न ८ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाईते बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेईकल (एमसीबी) समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ । सुरक्षा योजना अन्तर्गत ५ सय ६३ स्थानमा पैदल गस्ती, ३ सय ६६ स्थानमा मोवाईल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दुरीको गस्ती), २ सय ९ स्थानमा क्यु.आर.टी. र ३ सय ७३ स्थानमा चेकप्वाईन्ट तथा पिकेट ड्यूटिमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने पनि श्रेष्ठको भनाइ छ । यस्तै उपत्यकाका विभिन्न स्थानहरुमा ५ वटा अनुगमन टोली समेत परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ ।