कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : जनमोर्चा

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १० : २०
कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले  कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताएको छ । भारतले सो क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको भन्दै जनमोर्चाले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएको हो । 

नेपालको कालापानी क्षेत्रमा पर्ने गुन्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्व जानकारी नगराई भ्रमण गरेकोमा पनि सो पार्टीले आपत्ति जनाउको छ । 

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–'कालापानी क्षेत्रमा पर्ने गुन्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ मा पर्दछन् । कुटी, गुन्जी, नाभी, न्यूराङ्, छोटाकैलाश सहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग हुन् ।

नेपाललाई कुनै जानकारी नै नगरी भारतीय प्रधानमन्त्री उक्त क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कूटनीति, मर्यादा तथा शिष्टाचारको उल्लङ्घन हो । त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो ।'

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रूपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउने भएकोले यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्न नहुने सो पाटीको मत रहेको छ । 

प्रतिक्रिया दिनुहोस