डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघ्यो, २० जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १२ : १६
डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघ्यो, २० जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८ महिनाको अवधिमा सङ्क्रमितको सङ्ख्या  ३८ हजार ७९० पुगेको हो । 

यो अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । 

यस्तै, पछिल्लो समय सुनसरीपछि  तनहुँ जिल्लामा तीव्र रूपमा डेंगु फैलिएको छ । दोस्रोमा तनहुँमा एक साता यता सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ९०० पुगेको छ । त्यसपछि झापामा ३ हजार ५८८ पुष्टि भएको छ । धादिङमा ३ हजार १३६ जनामा सङ्क्रमण भएको छ ।

मोरङ २ हजार २७४ जना सङ्क्रमित हुँदा कास्की १ हजार ५०० जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ८१०  जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५३० जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा  ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ५२९ जना पुगेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै २३ हजार ९३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । ७ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ९०५ जना सङ्क्रमित छन् भने त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ८६, मधेस प्रदेशमा ५९०, लुम्बिनी प्रदेशमा ६६२ र कर्णाली प्रदेशमा १३० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस