विश्वकप क्रिकेट : श्रीलंकाद्वारा पाकिस्तानलाई ३४५ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १९ : ५५
विश्वकप क्रिकेट : श्रीलंकाद्वारा पाकिस्तानलाई ३४५ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत अहिले श्रीलङ्का र पाकिस्तानबीच खेल भइरहेको छ । श्रीलङ्काले पाकिस्तानसामु जितका लागि तीन सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो ।

श्रीलङ्काका लागि कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने ।

धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए । बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए ।

जारी विश्वकपमा श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस