चालु आर्थिक वर्षबाट एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने : मन्त्री शर्मा

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, ११ : ०५
चालु आर्थिक वर्षबाट एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालु आर्थिक वर्षबाट नै एक पालिका एक हुलाक को अवधारणा कार्यान्वयन गर्ने बताएकी छन् । सोमबार विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनः संरचना गर्न आवश्यक भएको बताएकी छन् ।

‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा व्यापक कटौती आएको छ । सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनः संरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी एक पालिका एक हुलाक को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’

उनले हुलाक सेवाको विश्वव्यापी सञ्जालमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रको रूपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।उनले मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था नभए पनि यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस