प्रधान सेनापति शर्मा बेलायत प्रस्थान

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १२ : ३८
प्रधान सेनापति शर्मा बेलायत प्रस्थान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणको लागि आइतबार गते बेलायत प्रस्थान गरेका छन् ।

बेलायतमा रहँदा प्रधान सेनापति शर्माले वेल्स, ब्रेकन स्थित सेनीब्रिज ट्रेनिङ एरिया क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रियन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन् । नेपाली सेनाका अनुसार भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी जनरल स्यान्डर्ससँग शिष्टाचार भेटघाट हुनेछ ।

त्यस्तै, उनले बेलायती सेनाको ल्यान्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज, र रोयल मिलिटरी एकाडेमी स्यान्डहर्सटका कमाण्डान्टहरुसँग भेटघाट तथा ब्रिगेड अफ गुर्खाको समेत भ्रमण गर्नेछन् ।

 

प्रधान सेनापतिको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

 

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी राणाले बिदाइ गरेका थिए । बेलायत प्रस्थान गर्नु पूर्व प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बेलायत भ्रमण पश्चात् प्रधान सेनापति यही आश्विन २७ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस