चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, ११ : ३७
चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटवल। बुटवलको लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको प्रमुख चाड दशैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आइतवार असोज २१ गतेदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ ।यो अफर अनुसार अब शनिबार वाहेक अन्य दिनहरूको टिकट दर ४५० रुपैया मात्र कायम भएको छ ।

नेपालीहरूका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ संैजूले जानकारी दिए । टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेस्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

चाडपर्वमा आम सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफरजस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जीपलाइन सञ्चालनमा ल्याइसकेको छ भने छिट्टै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ ।

 

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाऊ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ । 

उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको छ । टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस