‘शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम

रासस

शनिबार, २० असोज २०८०, १२ : ५३
‘शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम

काठमाडौँ ।  ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् ।  तिनले राति उज्यालो दिन सकेका हुँदैनन्, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो  दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।” हो, यस्तै चन्द्रमा थिए सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ । 

फलेको वृक्षको हाँगो निहुरिए झैँ उहाँमा कुनै घमण्ड थिएन । शालीन एवं मिलनसार व्यवहार र उच्चकोटीको विचार नै उनको विशेषता थियो । गाउँका सर्वसाधारणदेखि दरबारको उच्च वर्गका मानिससँग पनि उनको उत्तिकै पहुँच र सम्बन्ध थियो । उनी सर्वसाधारणको भाषा राम्ररी बुझथे । देशको अवस्थिति र परिस्थितिलाई नजिकबाट नियालेका बहुआयामिक व्यक्तित्व उनी नेपाललाई स्वर्गकै रूपमा व्याख्या गर्थे । विश्वका धेरै मुलुकको भ्रमण गरिसकेका र संसार चिनेका उनी नेपाल जस्तो सुन्दर र असीमित सम्भावनायुक्त देश विश्वमा कहीँ नभएको  हामीलाई भेटमा सुनाउथे । उनले सरकारी सेवामा रहँदा विभिन्न जिम्मेवारी पूरा गर्दै देशका प्रायः सबै ठाउँमा पुग्नु मात्र भएन,  त्यहाँको कला, साहित्य, संस्कृतिलाई टपक्क टिपेर मूल प्रवाहमा ल्याएका थिए ।

शताब्दीसम्म बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा लगाउने असाधारण शक्ति र सामर्थ्यका धनी जोशीको जीवनका विभिन्न पाटालाई सङ्गृहीत गरेर प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ (भुँडी पुराण, २०७९)  मा  जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उनका जीवनका विविध आयाम मात्र समेटिएका छैनन्, नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा पनि पढ्न पाइन्छ ।  कृतिमा जोशीको जीवन र जीवनशैली, सेवा र योगदान, कदर र सम्मान तथा  आदर्शका बारेमा विभिन्न दृष्टि र कोणबाट बुझ्न सकिन्छ ।

“सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए”,   पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सम्पादकीयमा लेखेको यस उक्तिले जोशीको जीवनको सङ्घर्ष र प्राप्त गरेको सफलतालाई छर्लङ्ग पारेको छ । कहिल्यै नथाकी,  नहारी र नरोकिई आफ्ना कर्ममा जुटिरहने  दरिलो आत्मबल र बलियो आत्मविश्वासका धनी जोशीको निधनपछि उनीबारे लेखिएका समाचार, सम्पादकीय, श्रद्धाञ्जली लेखरचना,  आलेख,  अन्तर्वार्ता आदिलाई एउटै पुस्तकमा समावेश गरेर पत्रकार ढुङ्गानाले पाठकलाई ठुलै गुन लगाएका छन् । 

तीन पटक मदन पुरस्कार पाउने जोशीका नेपाली र नेपाल भाषामा लिखित ६० भन्दा बढी पुस्तक प्रकाशित छन् । नेवार भएर पनि उनी नेपाल भाषा र नेवारी संस्कृतिमा मात्रै खुम्चिएनन् । नेपाली भाषा, संस्कृति र साहित्यका विकासमा पनि उनले ठुलो योगदान गरेका छन् । सादा जीवन उच्च विचारका धनी उनीमा कहिल्यै घमण्ड, अहम् वा फुर्तीफार्ती देखिएन । रसिलो, भरिलो र झरिलो फलफूल जस्तै उनमा नम्रता र निहुरिने दुर्लभ गुण भरिपूर्ण थियो । जुनसुकै भूमिका र जिम्मेवारीमा रहँदा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्ने प्रबुद्ध व्यक्तित्व उनी लोक वाङ्मयका विविध विषयका इन्साइक्लोपेडिया नै थिए भन्ने तथ्य पुस्तकको अध्ययनबाट पाइन्छ । 

जोशीको समग्र जीवनवृत्तलाई एउटै पुस्तकमा समेट्ने जमर्को गर्ने सम्पादकको मेहनत र धैर्यको तारिफ गर्नैपर्छ । पुस्तकभित्र यति धेरै सामग्रीको सङ्कलन, संयोजन र सम्पादन एक्लैले गर्न सक्नु चानचुने कुरा होइन ।  पुस्तक पढेर पाठकले जोशीको जीवनबाट धेरै  सिक्न, बुझ्न   र जान्न सक्छन् । यस्ता बहुप्रतिभाशाली व्यक्तित्वका बारेमा लेखिएको पुस्तकको औचित्य कहिल्यै सकिँदैन, बरु युगयुगसम्म सान्दर्भिक रहिरहन्छ । “न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा । बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा । वास्तवमा सत्यमोहनले प्रत्येक सेकेन्ड र मिनेटलाई महत्त्व दिएर सदुपयोग गरेकाले नै महान् बने”, ढुङ्गाना लेख्छन् । 

पुस्तकमा उनका केही अप्रकाशित र निधनअघि लिइएका वा प्रकाशित सामग्री पनि समेटिएका छन् । यसरी उनका बारेमा बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्तावेजीकरण गरी संरक्षण गर्न सहज भएको छ । 

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, परिशिष्टाङ्कका आलेख १७, समाचार १७, सम्पादकीय सात, अन्तर्वार्ता चार र कविता तीन समावेश छन् । पहिलो लेख खण्डमा जोशी स्वयंदेखि अन्य विभिन्न लेखकका लेखको सङ्कलन छ । जोशीलाई नजिकबाट चिनेका तथा उनीसँग निरन्तर सम्पर्कमा रहेका विभिन्न लेखक, साहित्यकार र पत्रकारका अढाइ दर्जनभन्दा बढी लेख यस खण्डमा समावेश गरिएका छन् । दोस्रो खण्डमा उनको निधनपछि राष्ट्रिय दैनिकलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीय समावेश गरिएका छन् । यी सम्पादकीयको अध्ययन गर्दा सञ्चारमाध्यमका नजरमा उनको उचाइ निकै माथि रहेको पाइन्छ । तेस्रो खण्डमा विभिन्न समयमा विभिन्न व्यक्तिले जोशीसँग लिएका तीन अन्तर्वार्ता समाविष्ट छन् जसमा व्यक्त विचार आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् ।

चौथो परिशिष्टाङ्क खण्डमा राष्ट्रकवि माधव घिमिरेलगायत प्रतिष्ठित लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकारद्वारा लेखिएका गहन र अत्यन्त जानकारीमूलक विचार र अभिव्यक्ति समेटिएका छन् । पाँचौँ खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार तथा छैटौँ खण्डमा तीन कविका जोशीप्रति समर्पित कविताहरू छन् । अन्तिम खण्डमा  जोशीका केही मुख्य कृति र तस्बिर समावेश गरिएका छन् ।

जोशीका जीवनका विभिन्न पाटालाई केलाउँदै पुस्तकमा समाविष्ट सामग्रीको अध्ययन गरिसकेपछि कुनै एक चिनारी मात्रैले उनलाई चिनाउन सम्भव हुँदैन । संस्कृतिदेखि साहित्य, कला, सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उनको अतुलनीय योगदान रहेको पाइन्छ । परिश्रमको फल मीठो हुन्छ भने झैँ अन्य कुनै नेपालीले नपाएको सम्मान र पदवी पाउन उनी सफल भएका छन् । उनी त्यस्तो एक मात्रै नेपाली थिए जसको जीवित रहँदै तस्बिराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको थियो । सय, १००० र दुई हजार ५०० का सिक्काको एउटा पाटामा जोशीको तस्बिर छ भने अर्कापट्टि सगरमाथाको तस्बिर छ ।

पुस्तक बालबालिकादेखि युवा र वृद्ध वृद्धासम्मलाई उपयोगी बनेको छ । सम्पादक ढुङ्गानाले भने जस्तै समयले जोशीलाई बनाएको र जोशीले समयलाई बनाएको देखिन्छ । उनी नेपालको प्रतिबिम्ब नै थिए । उनले जीवनको हरेक क्षणलाई अर्थपूर्ण बनाए, जसले गर्दा उनलाई सगरमाथाको उचाइमा राख्न सकियो । सम्पादक आफैँ पनि अनुसन्धानमा रुचि राख्ने पत्रकार भएका नाताले पनि पुस्तकमा अनुसन्धानकर्तालाई उपयोगी हुने गरी सामग्री समावेश गरेका छन् । चार सय २० पृष्ठको पुस्तकमा रहेका लेख, आलेख आदिले उनलाई युगौँ युगसम्म स्मरणीय र अजम्बरी बनाउनेमा सम्पादकसमेत ढुक्क देखिन्छन् । 

 

प्रतिक्रिया दिनुहोस