रिसाएकी प्रेमिकालाई मनाउन रातभरी ३ सय होर्डिङ बोर्ड लगाएपछि…

एजेन्सी

बुधबार, ०६ भदौ २०७५, १३ : ४४
रिसाएकी प्रेमिकालाई मनाउन रातभरी ३ सय होर्डिङ बोर्ड लगाएपछि…

महाराष्ट्र, महाराष्ट्रको पुणेस्थित पिम्परी चिन्चवाडका एकजना युवाले आफ्नी प्रेमिकालाई मनाउन ३ सय होर्डिङ बोर्ड लगाएका छन् ।

‘शिबाडे आइएम सरी’ लेखिएका होर्डिङ बोर्ड सहरभरी देखिएपछि ती युवा अहिले चर्चाको शिखरमा छन् । प्रेमिकालाई मनाउने अनेक बहाना हामीले सुन्दै आएपनि यी युवकले गरेको कार्य ठीक हो या बेठीक हो भन्नेमा अधिकारीहरु नै अन्यौलमा छन् ।

निलेश खेडेकर नाम गरेका ती युवाले उक्त क्षेत्रका पिम्पले सौदागर, वाकड र राहतानी क्षेत्रमा रातभरी ३ सय बोर्ड लगाएका थिए ।

शुरुमा यी बोर्ड देखेपछि अचम्ममा परेका प्रहरीले अनुसन्धान गर्दै जाँदा निलेशलाई पक्राउ गरेका छन् । सहरका सबै प्रिन्टिङ प्रेसमा सोधपुछ गर्दै जाँदा निलेशले आफ्नो साथीको सहयोगमा पोष्टर बनाएको पत्ता लागेको थियो ।

प्रहरीसँग बयान दिँदै निलेशले प्रेमिका केही कारणवश रिसाएकाले यो पोष्टर लगाउन परेको बताएका छन् । मराठी अखबार पधारीमा यसबारेमा पहिलो रिपोर्ट प्रकाशित भएको थियो ।

२५ वर्षीय निलेशले गत शुक्रबार राती यी पोष्टर लगाएका थिए ।

उनीमाथि नगरपालिकाको सार्वजनिक सम्पत्ति बिगारेको आरोपमा मुद्दा चल्न सक्छ ।

उनकी प्रेमिका को हुन र यी पोष्टरहरुको उनीमाथि के प्रभाव पर्यो भन्ने कुरा खुल्न सकेको छैन ।

प्रहरीले युवकविरुद्द अदालतमा मुद्दा दर्ता गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस