'पहिचानको नागरिकता बनाउन पाठेघरको शल्यक्रिया गरेका व्यक्तिको निधनमा राज्य किन चुप छ ?':सांसद डाँगी

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १३ : ५१
'पहिचानको नागरिकता बनाउन पाठेघरको शल्यक्रिया गरेका व्यक्तिको निधनमा राज्य किन चुप छ ?':सांसद डाँगी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पहिचानको नागरिकता लिनको लागि गरिएको कानुनी विभेद हटाउन माग गरेकी छिन् ।प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले पहिचानसहितको नागरिकता लिन मर्नुपर्ने अवस्था आउनुपर्ने हो भन्दै प्रश्न उठाएकी हुन् ।

‘पहिचानकोसहितको नागरिकता बनाउन पाठेघरको शल्यक्रिया गरी फालेका लैंगिक तथा यौनिक अल्पसंख्यक एक व्यक्तिको केही समय अघि मृत्यु भयो । संविधानको धारा १२ मा पहिचानको नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान छ । पहिचानको नागरिकता बनाउन लिंग परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था नेपालमा छैन ।

तर पहिचानको नागरिकता लिन अस्पतालबाट शल्यक्रिया गरी लिंग परिवर्तन गरेर स्वास्थ्य मन्त्रालयबाट प्रमाणपत्र राज्यले माग्छ’ डाँगीले भनिन्, ‘पहिचानको नागरिकता लिन यसरी मर्नुपर्ने अवस्था आउनु कत्तिको न्यायोचित हो ? नागरिकतकाो लिगको महलमा अन्य जनाइ नागरिकता लिने प्रावधान छ । तर अन्यको प्रावधान पनि नागरिकता लिन सहज छैन ।’लैंगिक अल्पसंख्यकलाई शिक्षा र रोजगारीमासमेत विभेद भइरहेको उनले बताइन् । 

 

‘यो समुदायका व्यक्तिले समलैंगिक विवाह गरेका छन् । सर्वोच्च अदालतले विवाद दर्ता गर भन्छ तर जिल्ला अदालतमा अड्कन्छ  । उनीहरूको सम्पत्तिको सुरक्षा छैन । शैक्षिक प्रमाणपत्रमा नाम सच्चिँदैन’ उनले भनिन्, ‘अस्पतालमा अडचन छ । रोजगारीबाट अझै पनि वञ्चित छन् । पाइला पाइलामा कानुनी अड्चन भोग्न विवश छन् । यी पिल्सिएकाको पक्षमा कानुन बनाउन सभामुखमार्फत ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया दिनुहोस