प्रधानमन्त्री ‘प्रचण्ड’ बझाङ जाँदै

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १२ : २३
प्रधानमन्त्री ‘प्रचण्ड’ बझाङ जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनः निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए।

बिहीबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले प्राकृतिक विपदले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए।

बझाङमा गत मङ्गलवार भूकम्प गएको थियो। त्यसपछि पटक पटक पराकम्पन आएका थिए। जसकारण एक जनाको मृत्यु, केही घाइते र घर तथा विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको छ।

भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा घरहरू क्षति भएको छ। २१ सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालयमा क्षति पुगेको बताएको छ।

प्रतिक्रिया दिनुहोस