हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १० : १२
हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा

एजेन्सी । इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । 

तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् । इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा परेकी ती बालिका कोमामा गएकी छिन् । हाल उनको कडा सुरक्षाबीच अस्पतालमा उपचार भइरहेको छ ।

यो घटनापछि इरानमा फेरी एकपटक त्यहाँका मानिसहरूले हिजाबलाई लिएर आवाज उठाउन थालेका छन् ।

कुर्द–केन्द्रित अधिकार समूह हेन्गोले यस घटनाको बारेमा बालिकाको नाम अर्मिता गरवन्द भएको जानकारी दिएकाे छ । तेहरान मेट्रो नजिकै महिला प्रहरी अधिकारीहरूसँग उनको बिबाद भएको थियो। सो क्रममा प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल पुग्दासम्म उनी कोमामा गएकी थिइन् ।

तर, इरानी प्रहरी अधिकारीहरूले यी आरोपहरू गलत भएको बताएका छन्। कम रक्तचापका कारण बालिका बेहोस भएको र उनलाइ उपचारका लागि प्रहरीले लगेको दावी गरेको छ ।

अधिकार समुह हेङ्गोले भने तेहरानको शोहदा मेट्रो स्टेशनमा तथाकथित नैतिक प्रहरीका एजेन्टहरूले समातेर र शारीरिक रूपमा कुटपिट गरेपछि गर्भान्डलाई गम्भीर चोट लागेको हाे । उसका अनुसार उच्च प्रहरी अधिकारीहरू कम रक्तचापका कारण उनी बेहोस भएको भन्ने बयान झुटो हाे ।

जनताको आक्रोश देखेर स्थानीय प्रहरी भने निकै सतर्क अवस्थामा रहेको छ । बालिकाको तेहरानको फजर अस्पतालमा कडा सुरक्षामा उपचार भइरहेको र अहिले पीडितलाई भेट्न कसैलाई अनुमति दिइएको छैन । कतिसम्म भने किशाेरीकाे परिवारका अरू सदस्यलाइ पनि भेटघाटमा रोक लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस