लोसपाको पदाधिकारी बैठक पार्टी प्यालेसमा बस्दै

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १० : २६
लोसपाको पदाधिकारी बैठक पार्टी प्यालेसमा बस्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक भएपछि यो पहिलो बैठक हो । ६३ जना पदाधिकारीको त्यो बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक गर्दा त्यसमा ६३ जना पदाधिकारी छन् । ६३ जनामा १६ जना महासचिव नै रहेका छन् । केन्द्रीय समितिमा एक जना अध्यक्षसहित तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष मात्र १५ जना सहमहासचिव आठ जना, सचिव ११ जना, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना, र सह कोषाध्यक्ष एक जना रहेका छन् ।

पदाधिकारी सबै कार्यकारिणी समितिका सदस्य रहने भएकाले यसलाई कतिपय नेताले कार्यकारिणी समितिको बैठक पनि भनेका छन् । पदाधिकारीको सङ्ख्या धेरैको भएको कारण पार्टी कार्यालयको बैठक कक्षमा नअट्ने भएपछि पार्टी प्यालेसमा बोलाएको हो ।

लोसपाका सचिव मनिष मिश्रका अनुसार पदाधिकार चयन भएपछिको यो पहिलो बैठक हो, यो बैठकले पार्टी सङ्गठन तथा समसामयिक विषयमा छलफल गर्ने बताए ।

केन्द्रीय समितिप्रति पार्टीभित्र नै असन्तुष्टि रहेका छन् । केन्द्रीय समितिमा केही आउने पर्ने नेता आएका छैनन्, केही न आउनुपर्ने पनि आएका छन् । पदाधिकारी गठन पनि भद्रगोल भएको छ, यी सब विषयमा पनि छलफल हुने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस