विश्व वरियतामा खस्कियो त्रिभुवन विश्वविद्यालयको स्थिति

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १२ : ३८
विश्व वरियतामा खस्कियो त्रिभुवन विश्वविद्यालयको स्थिति

काठमाडौँ । विश्वभरिका विश्वविद्यालयबीचको अध्ययनमा नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था झनै खस्केको पाइएको छ । विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।

टाइम्सले गत साता उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् २०१९ देखि त्रिवि उक्त सर्वेक्षणमा सहभागी हुँदै आएको छ । सोही बेलादेखिकै मूल्याङ्कनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको थियो । यसपालि भने उत्कृष्ट एक हजारभन्दा पछाडि धकेलिएको हो ।

विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, जग्गाजमिनलगायत भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान, साइटेसन, विदेशी विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छविलगायत विषयमा मापदण्ड तोकेर सर्वेक्षण हुँदै आएको छ । त्रिविका पदाधिकारीले ५ सयभित्र पर्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आए पनि नतिजा भने त्यसविपरीत खस्केको पाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस