पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १३ : २२
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए । 

 

पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने उनकाे भनाइ छ । आजै नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने आचार्यले बताए ।

 

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।तर चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

यता सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निगमसँग रुष्ट बनेका थिए । लगत्तै उनले मन्त्रिपरिषद्‍को बैठक बोलाएर यसबारे निर्णय गरेका हुन् ।

यसअघि पेट्रोल १८३ र डिजेलको १७३ रुपैयाँ प्रतिलिटर थियो । मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य पनि १ हजार ८९५ रुपैयाँ नै कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस