विराटनगर। नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ ।एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था आएको उल्लेख छ।
निराश र असन्तुष्टहरू राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ । युवा पङ्क्तिलाई समेत रास्वपाले आकर्षित गरिरहेको प्रतिवेदनमा लेखिएको छ।कोशी प्रदेशको आर्थिक र सामाजिक निम्ति १५ वटा चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीका नेता शेरधन राई संयोजक, हिक्मत कार्की र सुवोधराज प्याकुरेल सदस्य रहेको आर्थिक सामाजिक रुपान्तरण र प्रस्ताव मस्यौदा कार्यदलले १५ वटा चुनौती औंल्याएको हो । राजनीतिक अस्थिरताका कारण जनतामा निराशा उत्पन्न भएकाले जनमत 'स्विङ' हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने अधिकारहरू अहिलेसम्म संघीय सरकारले हस्तान्तरण नगरेका कारण चुनौती रहेको मस्यौदामा उल्लेख छ । यस्तै निजामती सेवा ऐन नबन्दा प्रदेशको हातमा कर्मचारी संरचना नभएको एमालेको ठहर छ । प्रदेश संरचनाकै औचित्यमाथि प्रश्न उठ्न थालेको अवस्था आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।प्रतिवेदनमा एमालेलाई चौतर्फी घेराबन्दी गरिएको पनि उल्लेख छ ।
४८ पृष्ठ लामो राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा राजनीतिक रूपमा क्रियाशील कुनै दलसँगको अन्तर्विरोध प्रधान नरहेको उल्लेख छ । नेकपा एकीकृत समाजवादीबारे भने प्रतिवेदनमा केही पनि उल्लेख छैन । 'राजनीतिक परिवर्तनमा कुनै न कुनै रूपमा भूमिका खेलेका साथै विभिन्न मुद्दामा सहकार्य र प्रतिस्पर्धाको अवस्था विद्यमान रहेको हुनाले कुनै पनि दल विशेषलाई प्रधानशत्रु घोषणा गर्नु कम्युनिस्ट आन्दोलनमा अतिवादी गल्ती हुन जान्छ,’ अध्यक्ष तुलसीप्रसाद न्यौपानेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा भनिएको छ ।
यद्यपि पहिचानको नामको विषयलाई लिएर एमालेविरुद्ध अनेकौं भ्रामक प्रचार भएको प्रतिवेदनमा उल्लेख छ । एमालेलाई पहिचान विरोधी बिल्ला भिराउने प्रयास भइरहेकोसमेत प्रतिवेदनमा उल्लेख छ ।
यस्तै एमालेले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद योगेन्द्र मण्डल आफ्ना कार्यकर्ता रहेको जनाइएको छ । जसपा र एमालेबीच चुनावी तालमेल हुँदा एमालेका योगेन्द्र मण्डलले बागी उम्मेदवारी दिएर चुनाव जितेका थिए । उनी चुनाव जितेपछि एमालेमा गएका छैनन् । यसअघि मोरङको जिल्ला कमिटीको बैठकले मण्डललाई कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको थियो ।
एमालेले इलामको निर्वाचन क्षेत्र २ मा हुने उपनिर्वाचनको तयारी शुरू गर्ने पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।इलाम निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्र खाली छ । अधिवेशनमा तीन वटै प्रतिवेदन छलफल भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग