आज पनि राहत शिक्षकहरुद्वारा माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, ११ : ५९
आज पनि राहत शिक्षकहरुद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलन आज बिहिबार पनि जारी राखेका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिइरहेका हुन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् । काठमाडौं उपत्यकामा आज इन्द्र जात्राको सार्वजनिक बिदा भएपनि राहत शिकक्षकहरु भने विदाको दिन पनि नभनी सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस