विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, ११ : १३
विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । 

 

केही राष्ट्रले घाइते खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । केही राष्ट्रले भने वैकल्पिक खेलाडीको सूचि पनि सार्वजनिक गरेका छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति बिहीबार साँझसम्मलाई तोकेको छ ।

त्यसैले सहभागी राष्ट्रहरुले बिहीबार साँझसम्म आफ्नो टोलीको अन्तिम नामावाली आईसीसी समक्ष बुझाउनु पर्नेछ । सहभागी राष्ट्रहरुले यसअघि घोषणा गरेको आफ्नो टोलीमा पनि बिहीबारसम्म फेरबदल गर्न पाउने छन् । 

 

बिहीबारपछि भने कुनै पनि राष्ट्रले आफ्नो इच्छा अनुसार टोलीमा परिवर्तन गर्न पाउने छैनन् । विभिन्न कारणले टोलीमा थपघट गर्नै पर्ने भए पनि उचित कारण देखाउँदै आईसीसीको अनुमति लिनुपर्ने हुन्छ । आगामी विश्वकपका लागि आयोजक भारतले केही साताअघि नै १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

तर, भारतले पनि आईसीसीले दिएको अन्तिम समयभित्र आफ्नो टोलीमा सामान्य थपघट गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । यसअघि घोषणा गरिएको भारतीय टोलीमा अक्सर पटेललाई पनि समावेश गरिएको छ । 

तर, हाल उनी घाइते अवस्थामा रहेकाले उनको स्थानमा अर्को खेलाडीलाई समावेश गरिने सम्भावना छ । उनको स्थानमा रविचन्द्रन आश्विनलाई समावेश गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने यस विषयमा केही बताएको छैन । यसका अतिरिक्त अन्य केही राष्ट्रले पनि आफ्नो टोलीमा सामान्य परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस