पर्यटनमा बढी योगदान गर्ने कम्पनी र व्यवसायी सम्मानित

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १३ : ०४
पर्यटनमा बढी योगदान गर्ने कम्पनी र व्यवसायी सम्मानित

काठमाडौं । एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई नेपाल सरकारले सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ । यो कम्पनीले १ अगस्ट २०२२ देखि २०२३ अगस्टसम्म सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको मन्त्रालयले जनाएको छ । यो कम्पनीले २३ लाख २२ हजार ६४ अमेरिकी डलर मुद्रा आर्जन गरेको थियो ।

सीता वर्ल्ड ट्राभल नेपाल प्रालि ट्राभल तथा टुर्समा बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ३३ लाख ६१ हजार १३६ डलर भित्राएको थियो ।

एभरेष्ट हस्पिटालिटी एण्ड होटल होटल तथा रिसोर्टतर्फ बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ५० लाख ४१ हजार २३७ डलर भित्राएको देखिएको छ ।

पोखरा अष्ट्रालाई प्रालि साहसिक खेलतर्फ सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ४४ हजार ३८८ अमेरिकी डलर विदेशी मुद्रा भित्राएको हो । एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम सम्मानित भएको छ । यो कम्पनले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर विदेशी मुद्रा नेपाल भित्राएको छ । आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात र कुखुरा पालन गरी एग्रो टुरिजम प्रवर्द्धन गरेको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज कपिलवस्तु समेत सम्मानित भएको छ ।

होमस्टेतर्फ अमलटारी होमस्टे नवलपरासी सम्मानित बनेको छ । विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पा समेत यस वर्ष सरकारबाट सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस