एक सय रुपैयाँभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न नपाइने

पत्रपत्रिकाबाट

बुधबार, १० असोज २०८०, ०८ : २९
एक सय रुपैयाँभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न नपाइने

काठमाडौ । नेपालमा एक सय भारतीय रुपैयाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपैयाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ ।

भारतबाट  नेपाल  आउँदा  वा  नेपालबाट  भारत  जाँदा  अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन-लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । 

भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ ।कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस