१९औँ एसियाली खेलकुद

२२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, ०९ : ३०
२२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

चीन । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । 

सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ । 

 
नेपालको निराशाजनक प्रदर्शन
चीनको हाङझाउमा जारी१९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्मको खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । नेपाल चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए । 

पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भए । मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो । 

फेन्सिङमा पनि नेपाल पराजित 
एसियाली खेलकुदअन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए । 

यस्तै महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस