दिगो विकासका लक्ष्य हासिल हुने कार्यक्रम तर्जुमा गर्न मन्त्री आचार्यको आग्रह

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १६ : ०७
दिगो विकासका लक्ष्य हासिल हुने कार्यक्रम तर्जुमा गर्न मन्त्री आचार्यको आग्रह

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थाहरूले दिगो विकासका लक्ष्यअनुसार कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् ।समाजकल्याण परिषद्‌द्वारा आज आयोजित ४४औं सामाजिक सेवा दिवसका अवसरमा मन्त्री आचार्यले गैरसरकारी सङ्घसंस्थालाई चालू नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

 

“दिगो विकासका लक्ष्य राष्ट्रिय नीति, योजनामा एकीकृत गरिएको छ । गैरसरकारी संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने गरी अनुगमन एवं प्रभावकारी बनाइने चालू नीति तथा कार्यक्रममै उल्लेख छ”, उनले भने, “यसलाई कार्यान्वयन गर्दै दिगो विकासका लक्ष्य र आवधिक योजनाले तय गरेको रणनीति, कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्नुहुन म सबै गैरसरकारी सङ्घसंस्था एवं सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।”

उनले परिषद्‌ले सीमित स्रोतसाधन, पूर्वाधार एवं जनशक्तिबाट समग्र गैरसरकारी सङ्घसंस्थाका निमित्त अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताए ।परिषद्को आन्तरिक सुशासनलाई बलियो बनाई सामाजिक संस्थाले पारदर्शिता, परियोजनाको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउन आवश्यकता रहेको उनको भनाइ थियो ।

मन्त्री आचार्यले गैरसरकारी क्षेत्रबाट हुने सबै कामकारवाहीलाई सरकारको एकद्वार नीतिअनुरुप समाजकल्याण परिषद्‌मार्फत सञ्चालन गर्ने गरी काम गर्न सम्बन्धित पक्षलाई अनुरोधसमेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस