शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छ : कानुनमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, ०९ : ५६
शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छ : कानुनमन्त्री

काठमाडौं । सरकारले आन्दोलित शिक्षकहरूका माग पूरा गर्ने गरी छलफल सुरु गर्ने जनाएको छ ।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानुनमन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने जिकिर गरे । अबको छलफल निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

“शिक्षक साथीहरूका बुँदाहरूमा हामीले बुँदागत रूपमा नै बसेर छलफल गरेका छौँ । अब एक छिनपछि शिक्षक साथीहरूका प्रतिनिधिसँग बसेर अन्तिम टुंगो लगाउनेछौँ,” उनले भने, “उहाँहरूले राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौँ । अब उहाँहरूसँग बसेर छलफल गरी टुंगो लगाउँछौँ । आज टुंगिन्छ ।”

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ । यसअघि, बिहीबार दुईपटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किएको थिएन । गएको बुधबारयता शिक्षकहरू काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस