एक सय तीन प्रकारका एन्टिबायोटिक औषधिको प्रयोग नगर्न निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०८०, १५ : ५०
एक सय तीन प्रकारका एन्टिबायोटिक औषधिको प्रयोग नगर्न निर्देशन

काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएकोसमेत बताए

“डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको छ,” उनले भने, “ती औषधी न दर्ता गर्छौँ न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।” उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने दर्ता गरिएका छन् । 

विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ । 

महानिर्देशक ढकालले प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न–नगराउन निर्देशन दिएको बताए । 

विभागमा दर्ता भएका र नभएका तथा डब्ल्यूएचओबाट सिफारिस नगरिएका प्रतिजैविक औषधिको समिश्रणहरु र सो औषधिको समिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ–दर्ता, थप–नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधिको समिश्रणको उत्पादन अनुज्ञापत्र, बजार विक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ । 

विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधिको कच्चा पदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेश गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधीको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ । 

यस्तै विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधी मौज्दात रहेका अवस्थामा भने  छ महिनासम्म मात्र विक्रीवितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस