विराटनगर । विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिइन्। दुई दिनमै निको भयो। तर, केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाइन्। तर, पनि असर गरेन। ज्वरो नघटेपछि बल्ल कोशी अस्पतालको बालरोग विभागमा जँचाउन लगिन्, चिकित्सकले नयाँ र अझ शक्तिशाली एन्टिबायोटिक लेखिदिए। तब मात्र छोराको ज्वरो निको हुँदै गयो। अस्पतालको बालरोग विभागको ओपिडीमा भेटिएकी सरिताले भनिन्, “पहिलो पटक काम गरेको औषधि यसपालि काम नगरेपछि थाहा पाए, हामी कति गलत ढङ्गले औषधि खाइरहेका रहेछौँ।”
त्यस्तै, मोरङको बेलबारीका ५५ वर्षीय रामबहादुर राईले पनि चिकित्सकको परामर्श बिना नै एन्टिबायोटिक औषधिको प्रयोग गर्ने बानी गरेको बताउँछन्। ‘मलाई प्राय: दाँत दुखिरहन्छ, पसल गएर एन्टिबायोटिक किन्थेँ। तीन–चार दिन खाएपछि दुखाइ हराउँथ्यो, त्यसपछि बाँकी औषधि राख्थेँ’, राईले सुनाए, ‘तर पछिल्लो पटक त्यही समस्या दोहोरिँदा औषधिले काम नगरेपछि दन्त चिकित्सकले यो औषधिको असर तपाईँको शरीरमा घटिसक्यो भनेर सबै कुरा बुझाएपछि पो म त झसङ्ग भए।’
यता धरानकी ३२ वर्षीया विद्यार्थी रीता तामाङले त औषधि फेसबुक समूहको सल्लाहमा नै लिँदै आएकी बिताउँछिन्। आफूसँग केही समस्या भए साथीभाइसँग सल्लाह मागेर सावधान खोज्ने बानी स्वास्थ्यजस्तो गम्भीर विषयमा पनि लागू गरेको सुनाउँछिन्।
‘मैले त फेसबुकका साथीहरूले दिएको सल्लाहको विश्वास गरेर पनि एन्टिबायोटिक औषधि धेरै पटक खाएको छु, साथीभाइले आफूलाई पनि त्यस्तै समस्या भएर यो एन्टिबायोटिक खाँदा तुरुन्त निको हुन्छ भनेर सुनाउँथे म पनि त्यही प्रयोग गर्थेँ, तर पछिल्लो पटक पेट दुख्दा अस्पताल भर्ना हुनुपर्यो’, रीताले भनिन्, ‘एन्टिबायोटिक औषधि आफूखुसी सेवन गर्नाले सामान्य औषधिले काम नगरेको बताउँदा म छक्क परे।’ त्यसपछि डाक्टरको सल्लाहबिना कहिल्यै एन्टिबायोटिक औषधि नखाने निर्णय गरेको उनी बताउँछिन्।
यी तीन उदाहरणहरू औषधि सजिलै पाइने र ‘छिटो निको हुने’ सोचका कारण मानिसहरू आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढ्दै गएको ज्वलन्त उदाहरण हुन्। चिकित्सकको परामर्शबिना आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्ने बानीले देशभर ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीलाई जन्माइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
कोशी अस्पतालका डा बालरोग विभाग प्रमुख डा.रामनारायण चौधरी पछिल्ला वर्षमा सामान्य सङ्क्रमणका औषधिहरूले काम गर्न छोडेका बिरामी बढ्दै गएको बताउँछन्। उनी भन्छन्, ‘एन्टिबायोटिकको दुरुपयोगले ब्याक्टेरिया झन् बलियो बनाउँछ। एकपटक असर गरे पनि दोहोरिँदा काम नगर्ने हुन्छ, यो अत्यन्तै खतरनाक सङ्केत हो।’
साधारण औषधिको तुलनामा एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरि घिमिरे बताउँछन्। उनी भन्छन्, ‘चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले कीटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो।’
प्रा डा घिमिरेका अनुसार जीवाणु, भाइरस, परजीवी र फङ्गीजस्ता कीटाणुबाट मानवलाई हुने सङ्क्रमण रोक्न प्रयोग गरिने औषधि नै एन्टिमाइक्रोबियल औषधि हो। यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको सुझाव छ।
विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सअर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखा परेको छ। यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायत एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम हुँदै विज्ञहरू बताउँछन्।
‘सकेसम्म यस्ता औषधिको प्रयोग कम गर्नुपर्छ, कहिलेकाहीँ गर्नैपरे चिकित्सकको सल्लाहबमोजिम कति दिन खाने, कति पटक खाने मात्रा मिलाएर खानुपर्छ’, डा घिमिरे भने, ‘मात्रा मिलाएर औषधि सेवन गरिएन भने अर्कोपटक यही औषधिले काम नगर्न सक्छ।’
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ कार्तिक २०८२, ११ : १२
लेखकबाट थप