स्वास्थ्यकर्मीमाथि कुटिपट गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ : रास्वपा

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, १२ : ४७
स्वास्थ्यकर्मीमाथि कुटिपट गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। रास्वपाका महामन्त्री एवं प्रवक्ता मुलुक ढकालले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकै भएपनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताएका छन्।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि कुटपिटको घटनामा तत्काल छानबिन गरेर दोषीमाथि कारबाही गर्नु्पर्ने बताएका छन्।  घटनाबारे समयमै छानबिन भएको भए काम छोडेर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिनुपर्ने अवस्था नआउने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउनू। अब आइन्दा कानुनअनुसार गर्नू भनेर पटक-पटक निर्देशन दिने अवस्था नआओस्, आपराधिक कार्यमा संलग्न जोसुकै हुन्,कानुनअनुसार अघि बढ्नूहोस्, राजनीतिक हस्तक्षेप हुँदैन । गृहमन्त्रीले प्रहरी प्रमुखलाई बोलाएर यति निर्देशन दिने हो भने अत्यावश्यक सेवा नै ठप्प हुने  गरेर अस्पताल बन्द गर्दै स्वास्थ्यकर्मीहरू यसरी आन्दोलनमा उत्रनुपर्ने थिएन। भएकै कानुन पनि लागू गर्न माग राख्दै आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा दोषी र ? राज्य वा आन्दोलन गर्ने चिकित्सक ?'

चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मीक बाहेकका सबै सेवा ठप्प पारिएको छ । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटको विरोध गर्दै संघले सरकारी अस्पताल,निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गरेको हो । डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ ।

चिकित्सकहरूको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्। जसका कारण उपचारका लागि स्वास्थ्य संस्था पुगेका विरामीहरु मर्कामा परेका छन् । 

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेको भीडीयो सार्वजनिक भएको थियो । त्यसलगतै दोषिलाई कारवाही गर्नुपर्ने माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस