धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, ०८ : ३४
धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

खोटाङ । गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् ।

रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् । 

धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरुको भनाइ छ ।  

गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिए । “जिल्लाका कृषकले लगाएका धान बालीमा तीन किसिमको रोग र एक प्रकारका कीराको सङ्क्रमण फैलिएको पाइएको छ ।

कृषि ज्ञान केन्द्रले बजेट अभावका कारण विषादी उपलब्ध गराउन सकेको छैन”, उनले भने, “धान बालीमा फैलिएको रोग पहिचान गरेर नियन्त्रण गर्न जिल्लास्थित सबै स्थानीय तहका प्राविधिकलाई सुझाव दिएका छौँ । स्थानीय तहले चासो दिएको खण्डमा नियन्त्रणमा ल्याउन सकिन्छ ।”

 

प्रतिक्रिया दिनुहोस