बागमतीका मन्त्री एवं कांग्रेस काभ्रे सभापतिले भने - सुनकाण्डमा मेरो कुनै संलग्नता छैन

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १४ : ०८
बागमतीका मन्त्री एवं कांग्रेस काभ्रे सभापतिले भने - सुनकाण्डमा मेरो कुनै संलग्नता छैन

काठमाडौं। ९६० ग्राम बरामद सुन प्रकरणमा आफ्नो नामसमेत मुछेको भन्दै बागमतीका उर्जामन्त्री एवं काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले आपत्ति जनाएका छन् ।आफ्नो संलग्नता रहेको भन्दै केही सञ्चारमाध्यममा नाम आएकोमा आपत्ति जनाउँदा लामाले सुनकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन् ।

 

‘मिति २०८० भदौ २५ गते काठमाडाैंमा सुन जस्तो पहेँलो धातुको डल्ला ९६० ग्राम नेपाल प्रहरीको मुचुल्का अनुसार बरामद भएको घटनामा पिगत दुई दिनदेखि मेरो समेत नाम जोडेर केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ लामाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्ता कपोलकल्पित, तथ्यहीन र पूर्वाग्रही समाचारले अत्यन्तै मर्माहत र दु:खित तुल्याएको छ ।

त्यस्ता भ्रामक समाचारमा कुनै सत्यता नरहेको र मेरो कुनै प्रकारको संलग्नता नरहेको यसै विज्ञप्तिमार्फत आम जनसमुदायलाई आश्वस्त पार्न चाहन्छु ।’मन्त्री र कांग्रेस सभापतिको हैसियतमा जनसम्पर्क हुँदा धेरैले अन्य कुनै प्रसंगमा खिचेका तस्वीरलाई लिएर सामाजिक सञ्जालमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाएका छन् । 

‘बागमती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा मेरो धेरै जनसम्पर्क हुने र ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेका तस्वीरसमेत राखेर समाचार प्रकाशित गरिनु सामाजिक सञ्जालमा अतिरञ्जित बनाउनु मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने कुत्सित मनसाय बाहेक केही होइन’ लामाले भनेका छन्, ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु ।’

यस्ता घटनाको छानबिन हुनुपर्ने माग गर्दै उनले आवश्यक पर्दा अनुसन्धानमा सहयोग गर्न पनि तयार रहेको बताएका छन् । ‘यस्ता घटनाको सत्य तथ्य छानबिन होस् भन्ने पक्षमा म आफू दृढ रहेको जानकारी गराउँदै दोषी पत्ता लगाउन र दोषीलाई कानून बमोजिम कारवाहीको पनि माग गर्दछु ।

साथै घटनाको सत्य तथ्य छानबिन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि म प्रतिबद्ध छु’ उनले भनेका छन्, ‘गलत सूचनाका आधारमा कसैको मानहानि हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्तअनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’

एक किलो सुन प्रकरणमा तरुण दल कांग्रेसका नेता विकास लामालाई प्रहरीले खोजिरहेको छ । मन्त्री लामालाई उनै विकाससँग जोडेर समाचार आएपछि उनले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् । 

कांभ्रे कांग्रेसका सचिव माधवप्रसाद ढकाल र गुणराज मोक्तानले पनि विज्ञप्ति जारी गर्दै सभापतिलाई अनावश्यक रुपमा मुछ्ने काम भएको बताएका छन् । सत्य तथ्यको छानबिन गर्न र दोषीलाई कारवाही गर्न उनीहरूले माग गरेका छन् ।उनीहरूले कुनै प्रष्ट आधारविना मानहानि र चरित्रहत्या हुने गरी अतिरञ्जित नगरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस