गणतन्त्रको आत्मा झल्कने गरी रासस ऐन संसोधन हुँदैछ : अध्यक्ष श्यामल

शनिबार, ०२ भदौ २०७५, २० : ४९
गणतन्त्रको आत्मा झल्कने गरी रासस ऐन संसोधन हुँदैछ : अध्यक्ष श्यामल

चितवन । राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मा झल्किने गरी ‘रासस ऐन २०१९’ संसोधन हुने प्रक्रियमा रहेको जानकारी दिनुभएको छ । आज चितवनका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समयसापेक्ष रुपमा गणतन्त्रको आत्मा बोक्नेगरी नयाँ ऐनमार्फत संस्थालाई प्रादेशिक संरचना अनुकुल संसोधन गर्न लागिएको बताउनुभयो ।

“राससले जो सरकारमा आयो, त्यसैको सेवा गर्नुपर्ने कानुनी प्रावधान छ, अहिलेपनि रासस ऐन २०१९को अधिनमै रहेर काम गर्नुपर्र्ने बाध्यता छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, रासस ऐन २०१९ नै भएतापनि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मा झल्कने गरी संसोधन प्रक्रिया अगाडि बढेको छ ।” 

जबसम्म राजनीतिक परिवर्तनलाई स्थायित्व दिने संयन्त्र बलियो हुँदैन तबसम्म राज्य व्यवस्थापनि बलियो नहुने तर्क गर्दै अध्यक्ष अधिकारीले यस्तो अबस्थामा राससले जनभावना अनुकुल आलोचनात्मक र खोजी सामग्रि सम्प्रेशण गर्नेतर्फ उन्मुख रहेको उल्लेख गर्नुभयो ।

विसं २०३६ साल, २०४६ साल र २०६२÷६३मा राजनीतिक परिवर्तन भएपनि समाजिक परम्परागत  मानसिकतामा परिवर्तन आउन नसक्नाले सञ्चार क्षेत्रपनि त्यसबाट अलग नरहेको उहाँले जिकिर गर्नुभयो । नेपालको पत्रकारिताले समेत ठुलो फड्को मारेपनि स्थिति हेर्दा चाहेजस्तो उज्यालो भने नदेखिएको उहाँले बताउनुभयो ।

यसपटक आफु राससमा आएपछि प्रधानमन्त्री, सञ्चारमन्त्री सहित विभिन्न प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीहरुसँग राससलाई पुनर्सरचनातर्फ लैजाने कार्यसूची प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया आएको अध्यक्ष अधिकारीको भनाई छ ।

उहाँले प्रदेश सरकारले आफ्नै सञ्चारमाध्याम खोल्नेतर्फ नीतिगत व्यवस्था गर्न लागेको सन्दर्भमा राससले विद्यमान नै त्यसको परिपूर्ती गर्न सघाउन सक्ने आफुले प्रस्ताव गरेको बताउनुभयो ।

राससमा आएको दुई महिनामा आन्तरिक र बाह्य संरचनामा सुधार गर्ने प्रयास थालेको उहाँले जानकारी गराउनुभयो । पुरानै शैली अनुसार रासस बाँच्न नसक्ने अध्यक्ष श्यामलको भनाई थियो । आफुले आस्थाका आधारमा नभई समर्पण, समझदारी, लेखनका आधारमा स्थान दिने समेत प्रष्टयाउनुभयो । रासस कसैको प्रतिष्पर्धी नभई सहयोगी भएको उहाँको भनाई थियो । 

राससका प्रदेश समाचार सहसंयोजक प्रकाश शिलवालले राससलाई परिस्कृति ढंगबाट अगाडि बढाउन वर्तमान नेतृत्वले काम थालेको जानकारी गराउनुभयो ।

कर्यक्रममा चितवनका पत्रकारहरुले राससमा सुधार आएको महसुस भएको प्रतिक्रिया दिएका थिए । यद्यपि खोजमुलक समाचार दिन, छिटो समाचार प्रस्तुत गर्न र भिडियो सेवा शुरु गर्न यहाँका पत्रकारहरुले सुझाव दिएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले भिडियो सेवा र फिचर समाचारमा जोड दिन आग्रह गर्नुभयो ।

पत्रकार महासंघकी केन्द्रिय सदस्य सृजना अर्यालले हिजोभन्दा आज राससमा परिवर्तन पाईएको उल्लेख गर्नुभयो । राससको समाचारमा गुणस्तर बृद्धि भएको बताउँदै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शालिग्राम नेपालले  भिडियो सेवा शुरु गर्न र राससमा काम गर्ने पुराना पत्रकारहरुको विषयमा सम्बोधन गर्न सुझाव दिनुभयो । रासस चितवन कार्यालयका प्रमुख नारायण अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा  पत्रकारहरु विनोदबाबु रिजाल, प्रकाश अर्याल, प्रकाश ज्ञवाली लगायतले सुझाव दिनुभएको थियो ।

यसैवीच अध्यक्ष अधिकारीले आज चितवनको कार्यालयको स्थलगत भ्रमण गर्दै अन्य जिल्लाहरु भन्दा चितवनको कार्यालय उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस