दीपक मनाङेले गरे परिषद् सदस्य पद अस्वीकार

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १६ : २७
दीपक मनाङेले गरे परिषद् सदस्य पद अस्वीकार

काठमाडौँ । राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ ।

 

तर मनाङेले सामाजिक सञ्जाल फेसबुकमा उक्त पदप्रति असन्तुष्टि जनाउँदै अस्वीकार गरेको घोषणा गरेका छन् ।  ‘एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ’, मनाङेले भनेका छन् । यसअघि रामकुमारी झाक्री, राजु गुरुङलगायतले पनि कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

 

मनाङेले फेसबुकमा यस्तो लेखेका छन् :

 

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार मलाइ केन्द्रीय परिषद्को सदस्यमा मनोनीत गरेको भन्ने सूचना प्राप्त भयो । यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरी गरिएको होइन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरू जनतासँग उत्तरदायी हुन्छन्, धेरै समय जनतासँग प्रत्यक्ष जोडिएका कामहरू र संसदीय कामकाजमा व्यस्त हुनुपर्दछ । जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ । 

एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरूलाई अगाडी बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ ।

एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।