काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा बन्द भएका दुई देशका नाका खुलाउन पहल गर्ने बताएका छन् ।संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चीन भ्रमणको क्रममा कोभिडका कारण हुन नसकेको दुईपक्षीय व्यापार नाका र परम्परागत सीमा नाका खोल्ने बारेमा समेत कुराकानी गर्ने जानकारी गराएका हुन् ।
चीन भ्रमणबारे प्रचण्डले भने–‘कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको दुईपक्षीय सम्बन्धलाई थप मजबुद बनाउनुको साथै नेपालको पूर्वाधार विकास, कृषि ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्रबाट प्राप्त सहयोगबारे छलफल हुनेछ ।’
उनले नेपालको प्रधानमन्त्रीको हैसियतमा गर्ने औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत सहयोगात्मक थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरु थप विस्तारित हुँदै जाने विश्वास लिएको बताएका छन् ।
साथै संघीयता लागू भएपछिको दोस्रो आम निर्वाचन पश्चात बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासो, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सदभाव हासिल गर्न सहयोगी हुने विश्वास लिएको बताएका छन् ।
प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदैछन् । अमेरिकाबाटै उनी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, १४ : ४०
लेखकबाट थप