बिपी साहित्य महोत्सवको पहिलो दिन के–के भए ?

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, २० : १४
बिपी साहित्य महोत्सवको पहिलो दिन के–के भए ?

काठमाडौं । “बिपी साहित्य महोत्सव—२०८०” को औपचारिक शुभारम्भ गरिएको छ । कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपमा त्रि–दिवसीय ऐतिहासिक “बिपी साहित्य महोत्सव—२०८०” को उद्घाटन गरेका हुन् । तत्पश्चात किरण मानन्धरले क्यानभाषमा तयार गरेको लाईभआर्टमा सभापति देउवाले रंग लगाएर चित्रकलाको सुरुवात गरे । उद्घाटन मन्तब्यका क्रममा सभापति देउवाले बिपीको राजनीतिक चिन्तन नै नेपाली कांग्रेसको मार्गदर्शन भएको कुरामा जोड दिंदै बिपीको बिचार कांग्रेसले मात्रै होइन नेपालका सबै राजनीतिक दल र अन्र्तराष्ट्रिय समुदायले समेत अनुकरण गरिरहेको बताए ।

उनले कांग्रेस आज सम्म बिपीकै बिचारको मार्गमा चलिरहेको पनि बताए । उद्घाटन मन्तव्य पछि सभापति देउवाले बागमती किनारमा रहेको बिपी पार्कमा रूद्राक्षकोे बृक्षारोपण समेत गरेका थिए । महोत्सवमा ११० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिट माथि स्थायी रुपले रहने गरी बिपीको तस्वीर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अंकित १० वाई १० को बेलुन एक साथ उडाएर महोत्सवको उद्घाटन सम्पन्न पार्टी कार्यालयले जनाएको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार उद्घाटन समारोहको संचालन सहमहामन्त्री तथा बिपी साहित्य महोत्सव — २०८० का संयोजक बद्रीप्रसाद पाण्डेले गरेका थिए । आज पाँच वटा विभिन्न विधामा कार्यक्रम संचालन भएको थियो । बिपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुबेदी वक्ताको रुपमा थिए भने उक्त सम्भाषणको सहजिकरण सोझो गाउँलेले गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले १ घण्टा सहजिकरण गरेको बिपीका दृष्टिमा बिपी भन्ने शीर्षकमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सिके लाल वक्ताका रुपमा छलफलमा सहभागी भए भने लाइभआर्ट विजय थापाले गरेका थिए । बिपीका आख्यानमा मनोविश्लेषणका विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्रतिक्षा वक्ताका रुपमा थिए भने सहजिकरण दिपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले गरेका थिए । साहित्यमा पर्यावरण शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायमाझी वक्ताका रुपमा थिए भने अर्चना थापाले सहजिकरण र किरण मानन्धरले लाइभआर्ट गरेका थिए ।

नेपालको मातृभाषा साहित्य शीर्षकमा बमकुमारी बुढामगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रुपमा थिए भने प्रकाश थाम्सुहाङले सहजिकरण र किरण सिगूले लाइभआर्ट गरेका थिए । साँझ कविहरुले कविता वाचन गरे भने त्यसको सहजिकरण हेमप्रभासले गरेका थिए । विभिन्न सत्रहरुको बीचमा सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । बिपी नगरमा बिहानै देखि सहभागीहरुको आगमनले खचाखच भरिएको थियो । नेपाली कांग्रेस पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्यहरु, मन्त्रीहरु, सांसदहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरु, विभिन्न विधाका विद्धान, साहित्यकार, लेखक, पत्रकार, चित्रकार, राजनीतिज्ञ, युवा, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । महोत्सवका वक्ता र कविहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । भाद्र २५ र २६ गते निर्धारित समयमा महोत्सवको कार्यक्रम शुरु हुने विश्वकर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस