जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १२ : ३९
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग

काठमाडौं। जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको हो ।

यद्यपि उनीमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो । वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताइन् । आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए ।

 

सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् । हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो ।यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।