काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन ।
बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिने मन्त्री आचार्यको स्पष्टिकरण थियो । आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री आचार्यले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे ।
मन्त्री आचार्यले बाल सुधार गृहको क्षमता वृद्धि गर्ने काम आवश्यक भएपनि त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो समेत गरे ।बैठकमा बोल्दै समितिका सदस्यहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुको समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसद ईश्वरबहादुर रिजालले संवैधानिक व्यवस्था अनुसार बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको उचित व्यवस्था हुनेगरी नीति, कार्यक्रम र बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले समस्याको समाधान नहुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद रिजालले लोककल्याणकारी राज्यको अवधारणा अनुसार अघि बढ्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १५ : ००
लेखकबाट थप