जग्गा भाडा प्रतिवर्गमिटर आठ रुपैयाँ बनाउन उद्योग मन्त्री रिजालको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १२ : ५३
जग्गा भाडा प्रतिवर्गमिटर आठ रुपैयाँ बनाउन उद्योग मन्त्री रिजालको निर्देशन

भैरहवा । देशकै पहिलो भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनका लागि जग्गा भाडा मासिक ८ रुपैयाँ प्रतिवर्गमिटर हुने गरी कार्यविधि बनाउन उद्योग मन्त्री रमेश रिजालले निर्देशन दिएका छन् । भैरहवा सेजमा रहेका आठ उद्योगले मासिक प्रतिवर्गमिटर २० रुपैयाँका दरले भाडा बुझाउँदै आएका छन् । विशेष आर्थिक क्षेत्रमा प्राधिकरणले उद्योग स्थापनाको पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट दिँदै आएको छ ।

प्राधिकरणले भाडा घटाएर १० रुपैयाँ बनाउने तयारी गरिरहेको सेजका कार्यकारी निर्देशक चन्द्रिका भट्टले मन्त्री रिजाललाई जानकारी गराएका थिए । तर, मन्त्री रिजालले १० रुपैयाँ नभई ८ रुपैयाँ बनाउन निर्देशन दिएका थिए । ‘सेज कमाउन आएको होइन, ८ रुपैयाँले खर्च धान्छ भने ८ रुपैयाँ बनाउनोस्, हामी कमाउन आएका होइनौं, कसरी हुन्छ सेजमा उद्योगीहरूलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्छ,’ मन्त्री रिजालले भने ।

सेज निरीक्षणका क्रममा मन्त्री रिजालले अन्य समस्याहरू पनि समाधान गर्दै लैजान कार्यकारी निर्देशकलाई निर्देशन दिए । त्यहाँ रहेका उद्योग सञ्चालकले अझै पनि भाडादर महँगो भएको र घटाउन माग गर्दै आएका छन् । सेजमा रहेको शक्ति मिनरल्सका निर्देशक दीपक झाले भाडाको समस्या यथावत् रहेको र घटाउन सके केही राहत हुने बताए । सेजमा प्रारम्भका प्रतिवर्गमिटर १ सय ५० रुपैयाँ भन्दा बढी भाडा हुँदा कुनै पनि उद्योगी आकर्षित हुन नसकेको उनको भनाइ छ ।

त्यसपछि कार्यविधिअनुसार भाडादर घटाउँदै अहिले २० रुपैयाँ भएको छ । भैरहवा सेजमा अझै पनि विद्युत समस्या छ । बारम्बार विद्युत ट्रिपिङ हुँदा उद्योगमा समस्या परेको उद्योगीहरूको भनाइ छ । त्यसैगरी निर्यातका क्रममा भन्सारमा अझै समस्या रहेको र ढुवानी गरी लैजाने ट्रकहरूलाई भन्सारले दैनिक १ हजार ५ सय रुपैयाँका दरले शुल्क लिने गरेकाले त्यो खारेज गर्न उनीहरूले माग गरेका छन् । भारतबाट सामान लिएर नेपालमा आएका खाली ट्रकहरू निर्यातका क्रममा प्रयोग भए पनि ७२ घण्टासम्मका लागि नेपालमा उनीहरूलाई छुट छ ।

तर, त्यही ट्रक प्रयोग गर्दा तीन दिनको दैनिक १ हजार ५ सय रुपैयाँ भन्सारलाई बुझाउन परेको भन्दै हटाउनुपर्नेमा झाले बताए । उनले सेज स्थापना हुँदा विभिन्न छुट सुविधाको कुरा कार्यविधिमा भए पनि भन्सारमै समस्या यथावत् रहेको बताए । ५२ बिघामा फैलिएको भैरहवा सेजमा कुल ६९ प्लट रहेका छन् । ६९ प्लटमध्ये ४ प्लट अझै बाँकी रहेको कार्यकारी निर्देशक भट्टले बताए । अहिले शक्ति मिनरल्स, विस्तार ग्लोबल, तिरुपति मेटल, ब्रिलियन्ट लाइट, पञ्चकन्या स्टिल, एस प्लास्टिक उद्योग सञ्चालनमा रहेको भट्टले बताए ।

जयबुद्ध मेटल क्राफ्ट उद्योग भने अहिले बन्द अवस्थामा छ । भैरहवा सेजमा अहिले ४ सय बढीले रोजगारी पाएका छन् । रोजगारीमा स्थानीय एवं नेपाली नागरिकलाई प्राथमिकता दिन पनि मन्त्री रिजालले निर्देशन दिएका छन् । भैरहवा सेजबाट अहिलेसम्म २ अर्ब ८० करोड रुपैयाँ बराबरको उत्पादन भएकोमा १ अर्व ८७ करोड रुपैयाँ मूल्यका सामान भारत निर्यात भएको छ । सेजमा आयोजित कार्यक्रममा सेजका कार्यकारी निर्देशक भट्टले सेज सञ्चालनको व्यवस्था निजी क्षेत्रलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

‘विदेशमा सेज लोकप्रिय हुँदै गर्दा हाम्रो देशमा किन व्यवसायी आकर्षित हुन सकेनन्, हाम्रो उद्योग सञ्चालन खर्च महँगो छ, सेज प्राधिकरण छ तर त्यहाँ उद्योग सञ्चालनका लागि दर्ता गर्न उद्योग विभाग जानुपर्छ, यो व्यावहारिक भएन,’ उनले भने । निर्यात वृद्धि गरी व्यापारघाटा कम गर्ने उद्देश्यसहित भैरहवा सेजको स्थापना भएको हो । विश्वका १ सय ४७ देशमा ५४ सय सेज सञ्चालनमा छन् । छिमेकी बंगलादेशमा मात्रै १ सय १० सेज सञ्चालनमा छन् ।

मन्त्रीसँग व्यवसायीको छलफल

रुपन्देही भ्रमणमा रहेका उद्योग मन्त्री रिजालसँग शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीले छलफल गर्दै उद्योग व्यवस्था उकास्ने नीति ल्याउन आग्रह गरे । संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले कोरोनापछि यस क्षेत्रका उद्योगहरूको अवस्था नाजुक रहेको, पूर्वाधार निर्माणसम्बन्धी उद्योग धराशायी भएकाले त्यस्ता उद्योग उकास्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले साना–ठूला उद्योग सबैमा समस्या रहेको, विद्युत, बैंकको ब्याजदर, कर, भन्सारलगायतका समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । श्रेष्ठले भैरहवा विशेष आर्थिक क्षेत्रमा जग्गा भाडादर अति न्यून ५ रुपैयाँभन्दा कम गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस