सोलुखुम्बुको ठूलो दूधकुण्ड मेलामा जाँदा बिरामी भएकाहरूको उद्धार

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, ११ : ५३
सोलुखुम्बुको ठूलो दूधकुण्ड मेलामा जाँदा बिरामी भएकाहरूको उद्धार

सोलुखुम्बु। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका १ मा रहेको ठूलो दूधकुण्डको मेलामा जाँदा लेक लागि बिरामी भएका यात्रीलाई उद्धार गरिएको छ ।उनीहरूलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र नेपाली सेनाको दुर्गाबक्स गण, सुरक्षा गुल्म सल्लेरीबाट खटिएको टोलीले बिरामी भएका भक्तजनहरूको उद्धार गरेको हो ।समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा रहेको दूधकुण्ड मेलामा हजारौं भक्तजन पुग्ने गरेका छन् ।श्रावण शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा धामीझाँक्री र विभिन्न स्थानबाट दर्शनार्थीहरू पुग्ने गरेका छन् ।

जिल्ला सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो ।जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभई बौद्धमार्गी, किराँतीहरु समेत दूधकुण्ड पुग्ने गर्छन् । 

 

प्रतिक्रिया दिनुहोस