सञ्चारमन्त्रीलाई भेटेपछि प्रदीपले भने - ‘ममाथि व्यक्तिगत रिसिबी साधियो’

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, ११ : ४३
सञ्चारमन्त्रीलाई भेटेपछि प्रदीपले भने - ‘ममाथि व्यक्तिगत रिसिबी साधियो’

काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा मंगलबार वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’ विधा गायब भएपछि उक्त समारोहको अहिले आलोचना भइरहेको छ ।

 

जुरीले ‘उत्कृष्ट फिल्म’ विधामा ‘प्रकाश’को नाम सिफारिस गरेको तर सञ्चार तथा सूचना मन्त्रालयले सरकारमा रहेको माओवादीप्रति लक्षित गरेर फिल्म बनेकाले नाम काटेर पठाएको चर्चा मिडियादेखि सामाजिक सञ्जालमा छाइरहेका छन् ।

 

फिल्म ‘प्रकाश’को नाम ‘उत्कृष्ट फिल्म’बाट मन्त्रालयले हटाएको विषय बाहिर आएपछि बुधबार फिल्म अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग मन्त्रालयमै भेट गरेका छन् । उनको साथमा ‘प्रेमगीत’ निर्माता सन्तोष सेन र अभिनेता प्रेम पुरी सहभागी थिए । मन्त्रीसँग भेटपछि प्रदीपले ‘प्रकाश’सँग सरकार डराएको नभई आफूसँग कसैले व्यक्तिगत रिसिइबी साँधेको निष्कर्ष निकालेका छन् ।

समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसिइबी साध्न सरकारको नाम प्रयोग भएको आफूले पाएको प्रदीपले बताएका छन् ।

‘प्रकाशसँंग सरकार डराएको देखिएन, बरु प्रक्रियागत हिसाबले अगाडि बढेको पाइयो । प्रक्रिया बुझ्दा व्यक्ति विशेष चाँंहि बरु लेखक विकास सुवेदी, म कलाकार प्रदीप खड्का र चलचित्र प्रेमगीत–३ सँंग डराएको बुझियो’, प्रदीपले सामाजिक सञ्जालमा अगाडि लेखेका छन् ‘ मलाई अवार्ड नदिँदा अवार्डको औचित्यमा नै प्रश्न आओस्, त्यस्तो काम गर्न सकौँ भन्ने मान्यतामा हिँडेको व्यक्ति म ।’ निर्देशक र नायिकाले अवार्ड पाउनुले ‘प्रकाश’प्रति सरकारको कुनै पूर्वाग्रह नरहेको बताउँदै उनले दिग्भ्रमित गर्ने हिसाबले गरिएको कानुनको उपहासको दोष कुनै पार्टीमाथि थोपारेर पानीमाथिको ओभानो बन्न खोजिएको आरोप समेत लगाएका छन् ।

उनले सूचनाको हक प्रयोग गर्दै उत्कृष्ट फिल्म किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परेमा कानुनी प्रक्रियामा समेत जाने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस