एमसीसी सम्झौताआजदेखि पूर्णरुपमा लागू, अमेरिकाद्वारा व्याख्यात्मक घोषणा स्वीकार

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, ०८ : ०८
एमसीसी सम्झौताआजदेखि पूर्णरुपमा लागू, अमेरिकाद्वारा व्याख्यात्मक घोषणा स्वीकार

काठमाडौ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) बुधबारदेखि पूर्णरूपमा कार्यान्वयनमा गएको छ । 

गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको थियो । 

एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम इआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि आजलाई तोकिएको हो ।

यसैबीच एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुगेका छन् ।  नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल भ्रमणमा आएका हुन् । 

अमेरिकाले नेपालको संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीलाई स्वीकार गरिसकेको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ । साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौँ’, दूतावासले उल्लेख गरेको छ ।

नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी एमसीसीको पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगको परियोजना छ ।

प्रतिक्रिया दिनुहोस